


तनहुँ ५ असाेज । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु २ ख ४४६६ नम्बरको बसलाई बेनीटारस्थित पृथ्वीराजमार्गमा शङ्का लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा बसमा सवार दुई जनाको साथबाट लागुऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ का ३८ वर्षीय नवराज परियार र पोखरा महानगरपालिका–३२, कास्कीका ३३ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले बोकेको सपिङ झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा डाइजेपाम २३ एम्पुल, फेनारागन २३ एम्पुल र ब्रुफेनोफिन २३ एम्पुल गरी जम्मा ६९ एम्पुल लागुऔषध फेला परेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।