


तनहुँ, २५ असोज । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै गोरखासहित तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले बुढीगण्डकी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना पुर्याउँदै सुरक्षित स्थानमा सार्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
प्राधिकरणले नदी तटीय क्षेत्रमा पर्ने सडकमा आवतजावत बन्द गर्न तथा आवश्यकताअनुसार खोज तथा उद्धार कार्यमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले पनि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सतर्क गराई सम्भावित जोखिमबाट जोगाउन आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, सुरक्षित उच्च स्थानमा बस्न र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरिएको छ ।