गुटबन्दी र पार्टी हितविपरीत गतिविधिको आरोपमा राजु दाहालको सदस्यता खारेज गर्न रास्वपा व्यास नगर समितिको सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुटबन्दी र पार्टी हितविपरीत गतिविधिको आरोपमा राजु दाहालको सदस्यता खारेज गर्न रास्वपा व्यास नगर समितिको सिफारिस

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८३, सोमबार

    दमौली, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समिति, तनहुँले पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै सदस्य राजु दाहालको पार्टी सदस्यता खारेज गर्न जिल्ला कार्यसमितिमार्फत अनुशासन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।

    नगर समितिको साउन १८ गते बसेको बैठकले व्यास–३ का सदस्य राजु दाहाल (सदस्य नं. TAN 1 क-000013634) ले विगतदेखि पार्टी गतिविधिमा अनावश्यक हस्तक्षेप, गुटबन्दी तथा पार्टीको हितविपरीत क्रियाकलाप गर्दै आएको निष्कर्ष निकाल्दै सदस्यता खारेजको सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

    समितिका अनुसार दाहालले यसअघि सामाजिक सञ्जालमार्फत राजीनामा दिएर पार्टी छाडेका थिए। पछि पुनः पार्टीमा फर्कन निवेदन दिएपछि २०८२ माघ १२ गतेको बैठकबाट गुटबन्दी नगर्ने र पार्टीलाई इमान्दारीपूर्वक अघि बढाउने सर्तमा सदस्यता सक्रिय गरिएको थियो।

    तर, पछिल्लो समय नगर, जिल्ला तथा प्रदेश अधिवेशनमा गुटबन्दी गर्ने, पार्टी हितविपरीत भेला आयोजना गर्ने, सार्वजनिक स्थानमा भोजभतेर गरी नेतृत्वप्रति कटाक्ष गर्ने, स्थानीय तहका पद बाँड्दै हिँड्ने तथा छुट्टै समूह गठन गरी रास्वपाको भेला भन्दै कार्यकर्तालाई झुक्याएर भेला गराएको आरोप नगर समितिले लगाएको छ।

    नगर समितिले अन्तिम निर्णय नआउञ्जेल राजु दाहाललाई पार्टीका कुनै पनि गतिविधि, बैठक वा भेलामा सहभागी नगराउन सम्बन्धित सबै समिति तथा विभागलाई पनि अनुरोध गरेको छ।