


दमौली, ३० साउन । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीस्थित जङ्गलमा बाटो बिराएर अलपत्र परेका चार किशोरीको आज प्रहरीले सकुशल उद्धार गरेको छ ।
दिउँसो करिब १ः१० बजे मानुङकोट हाइकिङका लागि गएका चार किशोरी ढोडेनीस्थित जङ्गलमा बाटो बिराएर अलपत्र परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी सहायक निरीक्षक दिपा केसीको कमाण्डमा महिला प्रहरीसहित दश जनाको टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले जङ्गलमा खोजी गरी अलपत्र अवस्थामा रहेका चारै किशोरीलाई सकुशल उद्धार गरेको हो । उद्धारपछि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकालाल घिमिरेले जानकारी दिए । हाइकिङ तथा जङ्गल क्षेत्रमा जाने क्रममा अपरिचित बाटोमा नहिँड्न र आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।