पार्टी एकढिक्का बनाउन महामन्त्री छाड्न पनि तयार छु : प्रदीप पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पार्टी एकढिक्का बनाउन महामन्त्री छाड्न पनि तयार छु : प्रदीप पौडेल

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८३, शनिबार

    दमौली, ६ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने बताएका छन् । पार्टीभित्र देखिएको विवाद र असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आफूहरू हदैसम्म लचक हुन तयार रहेको बताए ।

    उनले नियमित रूपमा महाधिवेशन भएको भए अहिले पार्टीभित्र देखिएको समस्या उत्पन्न नहुने दाबी गरे । आफूहरूले पटक–पटक नियमित महाधिवेशन गर्न आग्रह गरे पनि अर्को पक्षले त्यसको सुनुवाइ नगरेको र विशेष महाधिवेशनको मागलाई समेत बेवास्ता गरेको उनको भनाइ थियो ।

    “नियमित महाधिवेशन गरेको भए अहिले जुन समस्या देखिएको छ, त्यो हुने थिएन । हामीले बारम्बार नियमित महाधिवेशन गरौँ भन्यौँ, तर सुनुवाइ भएन,” पौडेलले भने ।

    विशेष महाधिवेशनपछि पनि विगतमा पार्टीका दुवै पक्षबीच सहमति कायम गर्ने उद्धेश्यले छलफल हुँदै आएको उनले उल्लेख गरे । विशेष महाधिवेशनले दुई सय एक जना सदस्य चयन गरेको र अर्को पक्षबाट एक सय एक जना सदस्य मर्ज गर्ने प्रस्ताव आएको भए पनि त्यस विषयमा सहमति हुन नसकेको पौडेलले बताए ।

    एक सय एक जना सदस्य थप गर्ने विषयले पार्टीको वैधानिकतामै प्रश्न उठ्न सक्ने र पार्टी विभाजनसम्मको अवस्था आउन सक्ने जोखिम देखिएकाले आफूहरू त्यसमा सहमत हुन नसकेको उनको भनाइ थियो । “पार्टी फुटाउनेसम्मको चर्चा भयो । त्यो सङ्ख्या मर्ज गर्दा पार्टी वैधानिक हिसाबले फुट्छ भन्ने डर भयो । त्यही कारण हामी मर्ज गर्न मानेनौँ,” उनले भने ।

    महामन्त्री पौडेलले असहमति र विवाद भए पनि पार्टीलाई विभाजनको दिशामा जान नदिई एकढिक्का बनाउन सकिने बताए । त्यसका लागि आफू व्यक्तिगत रूपमा समेत हदैसम्मको लचकता अपनाउन तयार रहेको उनको भनाइ थियो । “अझै पनि पार्टीलाई एकढिक्का बनाउन सकिन्छ । त्यसका लागि हामी हदैसम्मको लचक हुन्छौँ,” पौडेलले भने, “कसैलाई पद पुग्दैन भने म महामन्त्री छाड्न पनि तयार छु ।”

    उनले पार्टीभित्रको पद र जिम्मेवारीभन्दा पार्टीको एकता र संस्थागत भविष्य महत्वपूर्ण भएको बताए । नेतृत्वबीचको असमझदारीका कारण पार्टीका नेता तथा कार्यकर्तामा निराशा पैदा हुन नहुने भन्दै उनले संवाद र सहमतिबाट समाधान खोज्नुपर्नेमा जोड दिए ।