


दमौली । जेसीआइ व्यास नगरले सञ्चालन गर्न लागेको व्यास नगर साइनिङ स्टार कार्यक्रमका लागि अडिसनबाट छनोट भएका बालबालिकालाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गरिएको छ ।
व्यास नगर साइनिङ स्टारका लागि अडिसनबाट छनोट भएका २० जना बालबालिकालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँसँगको समन्वयमा आइतबार ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कमल गुरुङले बालबालिकालाई सडकमा हिँड्दा तथा सवारीसाधनमा यात्रा गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, सडक पार गर्ने सही तरिका, जेब्रा क्रसिङको प्रयोग तथा सडक सुरक्षाका आधारभूत विषयमा जानकारी गराएका थिए ।
बालबालिकालाई सानै उमेरदेखि ट्राफिक नियम तथा सडक सुरक्षाबारे सचेत गराउन सके दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने भएकाले कार्यक्रमअन्तर्गत ट्राफिक सचेतनालाई समेटिएको जेसीआइ व्यास नगरले जनाएको छ ।
व्यास नगर साइनिङ स्टार कार्यक्रमअन्तर्गत अडिसनबाट छनोट भएका २० जना बालबालिकालाई एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण दिइनेछ । बालबालिकाको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।
प्रशिक्षणमा नेतृत्व विकास, क्षमता विकास, व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि लगायतका विविध विषय समेटिने कार्यक्रमका मूल संयाेजक सुनिल श्रेष्ठले बताए । बालबालिकामा लुकेको प्रतिभा पहिचान गरी त्यसलाई थप निखार्ने तथा उनीहरूलाई भविष्यमा जिम्मेवार र आत्मविश्वासी नागरिकका रूपमा विकास गर्न कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी बालबालिकाले प्रशिक्षणका क्रममा आफूमा भएका प्रतिभा तथा क्षमता प्रस्तुत गर्ने अवसरसमेत पाउनेछन् । विभिन्न क्षेत्रका विज्ञ तथा प्रशिक्षकबाट प्रशिक्षण प्रदान गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
एक महिनासम्मको प्रशिक्षण पूरा भएपछि आगामी असोज ३ गते व्यास नगर साइनिङ स्टारको फाइनल प्रतियोगिता आयोजना गरिनेछ । फाइनलमा छनोट भएका बालबालिकामध्ये उत्कृष्टलाई व्यास नगर साइनिङ स्टारका रूपमा घोषणा गरिनेछ ।
जेसीआइ व्यास नगरले बालबालिकाको प्रतिभा पहिचानसँगै उनीहरूको नेतृत्व तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गर्न लागेको जेसीआइ व्यास नगरका अध्यक्ष अजर नागिलाले बताए।