


तनहुँ, १३ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि तनहुँ जिल्लाका विभिन्न नदी किनार क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। यसैक्रममा आज देवघाट गाउँपालिका–५ बाट तीन वटा र आँबुखैरेनी गाउँपालिका–४ बाट दुई वटा गरी थप पाँच शव फेला परेको छ।
फेला परेका पाँचै शवलाई पहिचान तथा आवश्यक प्रक्रिया अघि बढाउन दमौली अस्पतालमा राखिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
यसअघि भदौ १० गते नौ वटा, भदौ ११ गते १९ वटा र भदौ १२ गते तीन वटा शव फेला परेको थियो। हालसम्म तनहुँ जिल्लाको क्षेत्रमा गरी कुल ३६ वटा शव फेला परेको छ।
फेला परेका शवहरूको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको र नदी किनार तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्य भोलि पनि निरन्तर जारी रहने प्रहरीले जनाएको छ।