


दमौली, १४ भदौ । त्रिशूली र भोटेकोशी नदीमा आएको बाढीका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतका लागि लायन्स क्लब अफ तनहुँ सत्यवतीले ४० हजार रुपैयाँ सहयोग गरेको छ। क्लबले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको क्लबकी अध्यक्ष गीता श्रेष्ठले जानकारी दिइन्।
क्लबका पदाधिकारी तथा सदस्यहरूले आफ्ना व्यक्तिगत खर्चमा मितव्ययिता अपनाउँदै स्वस्फूर्त रूपमा रकम संकलन गरी सहयोग गरेको उनले बताइन्। लायन्स क्लब अफ तनहुँ सत्यवती सामाजिक सेवामा समर्पित संस्था हो।
सामाजिक भावना भएका व्यक्तिहरू संगठित भएर मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको क्लबले विपद्को समयमा पीडितको साथमा उभिनु आफ्नो जिम्मेवारी ठानेको जनाएको छ। ‘जहाँ सहयोगको आवश्यकता, त्यहाँ लायन्स’ भन्ने भावनाका साथ क्लबले विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यहरू गर्दै आएको छ। विपत्तिको समयमा गरिने सहयोग केवल आर्थिक सहयोग मात्र नभई मानवीय दायित्व पनि भएको अध्यक्ष श्रेष्ठले बताइन्। नेपालीलाई आपत् पर्दा नेपालीले नै सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ क्लबका सदस्यहरूले आफ्नो व्यक्तिगत खर्चमा समेत कटौती गरी राहतका लागि रकम जुटाएको उनको भनाइ छ।
क्लबले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग तथा सहभागिता जनाउँदै आएको जनाएको छ। आगामी दिनमा पनि समाजमा आवश्यकताअनुसार मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने क्लबले जनाएको छ।