


तनहुँ, १६ भदौ । तनहुँको भानु–२ फुस्रेटारस्थित श्री भानु महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका शेयर सदस्यहरूबाट स्वतःस्फूर्त रूपमा संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाकी अध्यक्ष खिम माया गुरुङले जानकारी दिइन्।
अध्यक्ष गुरुङले मानवीय सेवा नै धर्म भएकाले विपद्को यस घडीमा सबैले हातेमालो गर्दै सके धेरै र नसके थोरै भए पनि सहयोग गर्न आग्रह गरिन्। सबैको सानो–सानो सहयोगले ठूलो उद्धार तथा राहत कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सहयोग गर्ने सम्पूर्ण शेयर सदस्यहरूलाई धन्यवाद दिइन्।