राहत सामग्री लिएर रसुवा प्रस्थान गर्‍यो तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको टोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राहत सामग्री लिएर रसुवा प्रस्थान गर्‍यो तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको टोली

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८३, शनिबार

    दमौली, २० भदौ । बाढीपहिरोका कारण प्रभावित रसुवा जिल्लाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको टोली राहत सामग्री लिएर शनिबार रसुवा प्रस्थान गरेको छ।

    इकाई सभापति शेषराज श्रेष्ठको नेतृत्वमा गएको टोलीलाई शनिबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिदाई गरेका हुन्। विपद्को कठिन घडीमा पीडित नागरिकलाई राहत पुर्‍याउने मानवीय उद्देश्यका साथ दमौली बजार क्षेत्रका व्यवसायी, शुभेच्छुक तथा सर्वसाधारणको सहयोगमा राहत सामग्री संकलन गरिएको थियो।

    दमौली बजारमै सञ्चालन गरिएको राहत संकलन अभियानमा विभिन्न व्यक्ति तथा व्यवसायीले स्वेच्छिक रूपमा सहयोग गरेका थिए। संकलित राहत सामग्री लिएर टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले जनाएको छ।

    बिदाई कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख न्यौपानेले प्राकृतिक विपद्का बेला सबै पक्ष एकजुट भएर पीडितको सहयोगमा जुट्नुपर्ने बताए।

    उनले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकसम्म राहत पुर्‍याउने पहल गर्नु प्रशंसनीय रहेको बताए।नगर प्रमुख न्यौपानेले राहत लिएर प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई सुरक्षित यात्राको शुभकामना दिँदै राहत सामग्री वास्तविक पीडितसम्म पुर्‍याउन आग्रह गरे।

    इकाई सभापति श्रेष्ठले विपद्बाट प्रभावित नागरिकको पीडा कम गर्न सानो भए पनि सहयोग गर्ने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरिएको बताए।

    तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सचिव सिम्रन चन्द ठकुरीले दमौली बजारका शुभेच्छुकबाट राहत सामग्री संकलन गरिएको जानकारी दिइन्।

    “विपद्को पीडामा रहेका नागरिकलाई सकेको सहयोग गर्ने उद्देश्यले दमौली बजारमा राहत संकलन अभियान सञ्चालन गरेका थियौं,” सचिव ठकुरीले भनिन्, “व्यवसायी, शुभेच्छुक तथा विभिन्न सहयोगी मनहरूले अभियानमा साथ दिनुभएको छ। उहाँहरू सबैको सहयोग र सद्भाव लिएर हाम्रो टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।”