


स्याङ्जा,४ असोज । स्याङ्जाको प्रसिद्ध पर्यटकीय गन्तव्य दरौँ सिरुबारीमा साभ नेपालको आयोजनामा दुईदिने विशेष आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
संस्थाबाट अनलाइन तालिम लिइरहेका २५ जना सहभागीको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रशिक्षणको मुख्य विषय ‘जीवनको मूल्य, तनाव व्यवस्थापन र प्रयोगात्मक अभ्यास’ रहेको थियो।
कार्यक्रममा साभ नेपालका अध्यक्ष एवं मनोपरामर्शदाता डा. तुलसी प्रभास खनालले तनाव व्यवस्थापनका वैज्ञानिक विधि तथा दैनिक जीवनमा यसको प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए । वरिष्ठ रेकी उपचारक मुक्त खवासले रेकी उपचार तथा ध्यानका माध्यमबाट मानसिक र शारीरिक स्वास्थ्य सुदृढ गर्ने विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा सहभागीलाई सैद्धान्तिक ज्ञानसँगै विभिन्न प्रयोगात्मक अभ्याससमेत गराइएको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण अनलाइनमार्फत अध्ययन गरिरहेका सहभागीका लागि प्रत्यक्ष भेटघाट, ज्ञान आदानप्रदान र सिकाइको महत्वपूर्ण अवसर बनेको थियो।
दरौँ सिरुबारीको शान्त तथा प्राकृतिक वातावरण, स्थानीय गुरुङ समुदायको आतिथ्य र समृद्ध संस्कृतिले प्रशिक्षणलाई थप स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।
समापन समारोहमा प्रशिक्षणमा सहभागी सबै २५ जनालाई साभ नेपालको तर्फबाट प्रयोगात्मक प्रशिक्षण समापन प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सफलताबारे साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनालले दरौँ सिरुबारीको प्राकृतिक वातावरणमा सहभागीलाई प्रत्यक्ष भेटेर व्यावहारिक ज्ञान प्रदान गर्न पाउनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
यस प्रशिक्षणले साभ नेपाल र प्रशिक्षार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाएको संस्थाले जनाएको छ। आगामी दिनमा पनि यस्तै व्यावहारिक तथा आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ।