


तनहुँ, ५ असोज । तनहुँको म्याग्देमा प्रथम जिल्ला स्तरीय सेभेन ‘ए’ साइड अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ।
न्यु भिजन यूथ क्लब म्याग्दे–२, जामुनेको आयोजनामा तथा राधा माध्यमिक विद्यालय म्याग्दे–२ को सहआयोजनामा अन्डर–१७ उमेर समूहको प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिता असोज १६, १७ र १८ गते म्याग्दे–२ स्थित दम्सेरा खेल मैदानमा सञ्चालन हुनेछ। हिन्दुहरूको महान् चाड बडादशैँ तथा शुभ दीपावलीको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा एक टिमबाट १० जना खेलाडी (७ खेलाडी र ३ अतिरिक्त) सहभागी हुन पाउनेछन्।
प्रतियोगिताको विजेताले रु. ५१ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. २७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। यस्तै, ‘प्लेयर अफ द टुर्नामेन्ट’लाई रु. २ हजार र सर्वाधिक गोलकर्तालाई रु. १ हजार ५ सय पुरस्कार प्रदान गरिने न्यु भिजन युथ क्लवका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।