


तनहुँ १० असाेज । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै परदेशमा रहेका नेपालीको पीडा र परिवारप्रतिको सम्झना समेटिएको ‘भन परदेशी’ दशैं गीत सार्वजनिक भएको छ ।
दशैं–तिहारजस्ता महत्वपूर्ण चाडपर्वमा स्वदेश फर्किन नपाउँदाको पीडा तथा विदेशमा रहेका श्रीमानको बाटो कुरेर बसेकी श्रीमतीको भावनात्मक वेदनालाई गीतको मुख्य विषय बनाइएको छ। परदेशी जीवन र परिवारको प्रतिक्षालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतको भिडियो तनहुँको व्यास नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको हो। भिडियोमा चर्चित मोडल जुना गुरुङ, सुदिप पौडेल, हेमन्त सुवेदी, प्रभास भट्टलगायत कलाकारहरूको अभिनय रहेको छ।
सुशान पन्थले छायाङ्कन गरेको भिडियोको निर्देशन बीबी क्षेत्रीले गरेका हुन् भने गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका अन्जिता विश्वकर्माले गाएकी हुन्। दशैंको अवसरलाई लक्षित गरी निर्माण गरिएको यस गीतलाई निर्माण पक्षले विशेष अपेक्षा गरिएको सिर्जनाका रूपमा लिएको छ। विदेशमा रहेका नेपाली र उनीहरूका परिवारको भावनालाई समेटिएकाले गीतले दशैंको भावनासँग दर्शकलाई जोड्ने विश्वास गरिएको छ।