


तनहुँ, २० असोज । कालीगण्डकी बाढीबाट क्षति पुगेका पुलहरू दशैंअघि सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ।
तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेका अनुसार डेढगाउँस्थित पक्की पुलको नवलपुरतर्फ अस्थायी एप्रोच सडक निर्माण भइसकेको छ। तनहुँतर्फको क्षतिग्रस्त भाग ४८ घण्टे प्रक्रियाबाट दशैंअघि मर्मत सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।
यस्तै, मधुवन, अत्रौली, करुवाटार, भन्टार, जघौली, पुट्टार र बैँडीका गरी सातवटा क्षतिग्रस्त झोलुंगे पुलको प्राविधिक अनुगमन सम्पन्न भएको छ। ती पुलमा आवश्यक मर्मतसम्भार केही दिनभित्रै सुरु गर्ने गरी पूर्वतयारी भइरहेको न्यौपानेले जानकारी दिएका छन्।
आवतजावतको समस्या र स्थानीयवासीका गुनासोलाई प्राथमिकतामा राख्दै पालिका, जिल्ला प्रशासन कार्यालय, विपद् व्यवस्थापन, सडक विभाग, मन्त्रालय तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको उनले बताएका छन्।
दशैंअघि आवतजावत सहज बनाउने लक्ष्यमा सबै पक्षको साथ, सहयोग र सहकार्य आवश्यक रहेको न्यौपानेको भनाइ छ।