


तनहुँ, २६ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी करिब ३० वर्षीय सञ्जीव मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सहचालक सोही ठाउँका २२ वर्षीय प्रदीप विक घाइते भएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
आज मध्यान्ह १२ः०५ बजे डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते दुवैलाई उद्धार गरी प्रदेश अस्पताल दमौली पठाइएकामा सञ्जीवलाई दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइते सहचालक विकको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

दुर्घटनापछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट ट्राफिकसहित १५ जनाको टोली खटिएको थियो । दुर्घटनाका कारण पृथ्वी राजमार्गमा आवागमन अवरुद्ध नभएको र दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय यस ठाउँमा दिनहुँजसो ट्रक दुर्घटना हुने गरेको छ ।