


तनहुँ, २६ असोज । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँमा तालिमप्राप्त कुकुरसहित विशेष आकस्मिक जाँच सुरु गरिएको छ।
आज असोज २६ गतेदेखि जिल्लाको शुक्लागण्डकी नगरपालिका–स्थित कोत्रे बजार, आँबुखैरेनी गाउँपालिकाको मुग्लिङ पुल क्षेत्र, पृथ्वी राजमार्गका विभिन्न स्थान तथा जिल्लाका भित्री सडकमा समेत विशेष जाँच सुरु गरिएको हो।
चाडपर्वका अवसरमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै लागुऔषधजन्य पदार्थको अवैध ओसारपसार तथा कारोबार र विस्फोटक पदार्थको अवैध ओसारपसार एवं प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जाँच अभियान सञ्चालन गरिएको जनाइएको छ।
तालिमप्राप्त कुकुर (केनाइन) सहितको सुरक्षा टोली परिचालन गरी विभिन्न स्थानमा सवारीसाधन तथा शंकास्पद गतिविधिमाथि निगरानी र जाँचलाई तीव्रता दिइएको छ।