तनहुँमा अमानवीय रूपमा ओसारिँदै गरेका ६ गोरुको उद्धार, सवारीलाई ३७ हजार जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अमानवीय रूपमा ओसारिँदै गरेका ६ गोरुको उद्धार, सवारीलाई ३७ हजार जरिवाना

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८३, सोमबार

    तनहुँ, २६ असोज । तनहुँमा अमानवीय तरिकाले पशुचौपाया ओसारपसारमा संलग्न एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उक्त सवारी साधनबाट ६ वटा गोरुको उद्धार गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले भिमाद नगरपालिका–६ देउरालीमा सवारी साधन जाँच गर्ने क्रममा ६ वटा गोरु अमानवीय तरिकाले ओसारिँदै गरेको फेला पारेको थियो। टेक्रेबाट भिमादतर्फ आउँदै गरेको उक्त सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा बुझाइएको थियो।

    आवश्यक कारबाही तथा अनुसन्धानका लागि सवारी साधनलाई भिमाद नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ। उद्धार गरिएका ६ वटै गोरुलाई मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गौशालामा पठाइएको छ।

    अमानवीय रूपमा पशुचौपाया ओसारपसार गर्ने सवारी साधनलाई ३७ हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।