जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८३, सोमबार

    तनहुँ, २६ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वारा बस्ने ४७ वर्षीया इन्द्रमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जीप उकालोमा ब्याक भएर सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा घाइते गुरुङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    दुर्घटनामा सोही स्थानका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानो कान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन् । उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रनाउ घिमिरेले बताए ।

    दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।

    बोलेरो चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।