


तनहुँ , ३० असोज। नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्लेले अरूलाई खुइल्याएर पार्टी बलियो बन्न नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस व्यास–४ ले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वाग्लेले पार्टीभित्र एकता, आत्मीयता र प्रेम आवश्यक रहेको बताए ।
‘अरूलाई खुइल्याएर पार्टी बलियो बन्दैन । एकता, आत्मीयता र प्रेम हुनुपर्छ,’ उनले भने, ‘सबैले मिल्नुपर्छ भन्छन्, तर कोही किन मिल्दैनन् ? यसबारे गम्भीर आत्मसमीक्षा गरौँ ।’
वाग्लेले अब जनताको मनोविज्ञान बुझेर अघि बढ्नुपर्नेमा जोड दिए । जनताको भावना र चाहना बुझ्न नसके राजनीतिक चुनौती सामना गर्न कठिन हुने उनको भनाइ थियो ।
‘चुनौतीका पहाड नछिचोली चुनाव जित्न सक्दैनौँ,’ उनले भने ।
उनले पार्टीभित्र आपसी एकता र आत्मीयता कायम गर्दै जनताको मनोभावनाअनुसार अघि बढ्नुपर्ने सन्देश दिएका छन् ।