


तनहुँ, ५ कात्तिक । तनहुँको भानु नगरपालिका–११ की मेडिकल विद्यार्थी सुप्रिया अधिकारीले प्रविधि तथा साइबर सुरक्षाको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकी छन्। चिकित्सा शिक्षासँगै प्रविधिमा रुचि राख्दै आएकी अधिकारीले विश्वप्रसिद्ध प्रविधि कम्पनी मेटा (Meta) बाट ३ हजार ७५० अमेरिकी डलर बग बाउन्टी पुरस्कार पाउने भएकी हुन्।
अधिकारीले मेटाको प्राविधिक प्रणालीमा रहेको सम्भावित कमजोरी पहिचान गरी त्यसबारे विस्तृत प्रतिवेदन कम्पनीसमक्ष पेस गरेकी थिइन्। उनले बुझाएको प्रतिवेदनलाई मेटाले स्वीकार गर्दै प्राविधिक कमजोरी पहिचान गरी जिम्मेवार ढङ्गले रिपोर्ट गरेकोमा ३ हजार ७५० अमेरिकी डलर (US$ 3,750) पुरस्कार दिने निर्णय गरेको हो।
बग बाउन्टी कार्यक्रमअन्तर्गत प्रविधि कम्पनीहरूले आफ्ना प्रणाली, वेबसाइट तथा एप्लिकेसनमा रहेका सुरक्षा कमजोरी पहिचान गरी जिम्मेवार ढङ्गले जानकारी गराउने अनुसन्धानकर्तालाई पुरस्कार प्रदान गर्छन्। यस्ता कार्यक्रमले सम्भावित साइबर आक्रमण रोक्न, प्रयोगकर्ताको डेटा सुरक्षित राख्न र डिजिटल प्रणालीको सुरक्षा मजबुत बनाउन सहयोग पुर्याउँछन्।
चिकित्सा शिक्षामा अध्ययनरत अधिकारीले साइबर सुरक्षा तथा प्रविधिको क्षेत्रमा देखाएको सक्रियता र सफलतालाई उल्लेखनीय उपलब्धिका रूपमा लिन सकिन्छ। उनको यो सफलताले चिकित्सा क्षेत्रबाहेक अन्य प्राविधिक क्षेत्रमा पनि नेपाली युवाको रुचि, क्षमता र सम्भावना उजागर गरेको छ।