


पोखरा १९ कात्तिक । कास्कीको पोखरा महानगरपालिका–३२ धर्मकाटास्थित पृथ्वीराजमार्गमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बाटो काट्ने क्रममा रहेका पैदलयात्रीलाई स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो।
ग १२ प ५८२५ नम्बरको स्कुटरले ठक्कर दिँदा उदयपुरको रौतामाई गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३२ मझुवा बस्दै आएका ५४ वर्षीय विष्णु आले घाइते भएका थिए।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा निवासी २८ वर्षीया सृष्टि तिमिल्सिना पनि घाइते भएकी छन्।
दुवै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो। उपचारका क्रममा पैदलयात्री आलेको मृत्यु भएको प्रहरीले जनाएको छ।