तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीलाई पुर्नजीवित गराउन आवश्यक रहेको बताउनुभएको छ । स्कूल अफ डेमोक्रेसी तनहुँको साेमबार दमौलीमा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री भण्डारीले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुर्नजीवित र पुर्नसङ्गठनको आवश्यकता रहेको बताउनुभयो ।
काङ्ग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको भण्डारीको भनाई छ । “काङ्ग्रेसले हिजो कुन विचार बोकेर अगाडी बढ्यो, के थियो काङ्ग्रेसको मूल सिद्धान्त र विचार त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ,” उहाँले भन्नुभयो ।
काङ्ग्रेसले स्पष्ट नीति बनाउन नसक्ने र आफ्नै मौलिकता र पहिचान जोगाउन नसक्ने हो भने काङ्ग्रेस समाप्त हुने नेता भण्डारीले बताउनुभयो । राष्ट्रवादी शक्तिलाई जोड्न नसके काङ्ग्रेस पनि समाप्त हुने र काङ्ग्रेस समाप्त हुँदा लोकतन्त्र पनि समाप्त हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “तर असम्भव भने केही पनि छैन, त्यो दिन आउन नदिन काङ्ग्रेसका युवाहरु सशक्त ढङ्गले लाग्नुपर्छ ।”
देशको स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा कुनै पनि प्रकारका शक्तिको चलखेललाई स्वीकार गर्न नसकिने बताउँदै नेता भण्डारीले त्यसका लागि बलिदान दिन पनि तयार हुनुपर्नेमा टिप्पणी गर्नुभयो ।
नेता भण्डारीले सरकारको गतिविधिका कारण देश झन् पछाडि धकेलिएको आरोप लगाउँदै प्रशासन क्षेत्रमा हस्तक्षेप, आर्थिक रुपमा अनियमितता हुँदा पनि काङ्ग्रेसले आवाज बुलन्द गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व बास्तोलाले सुशासन र पारदर्शीतामा सरकार कमजोर रहेपनि प्रमुख प्रतिपक्षी दलले सरकार विरुद्ध आवाज उठाउन नसकेको बताउनुभयो । व्यास नगरसमितिका सभापति शान्तिरमण वाग्लेले लोकतन्त्रको संस्थागत विकास, विकृति र विसङ्गति विरुद्ध संस्थाले आवाज उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेता भण्डारीले स्कूल अफ डेमोक्रेसीको कार्यसमितिमा मनोनित भएकाहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले कार्यसमितिको उपाध्यक्षमा दीर्घबहादुर थापा, सचिवमा बसन्त कंडेल, सहसचिवमा सरोज भण्डारी, कोषाध्यक्षमा मिला दरै, सदस्यहरुमा गलबहादुर गुरुङ, दलबहादुर दुरा, गजेन्द्र पौडेल, ईश्वरराज पन्थ, प्रकाशचन्द्र हड्खले, अन्जनकुमार श्रेष्ठ, सुमन थापा मगर, उदयचन्द्र कंडेल, जब्बर मियाँ, मनबहादुर रुचाल, सकिना खातु, स्वस्तिका भट्टराई गैह्रे, रिया गुरुङ, महेन्द्र आचार्य, शैलेश खाती, विजय गुरुङ, विपिन कुंवर र अमृत ढकाललाई नियुक्त गर्नुभएको थियो ।
संस्थाका सचिव बसन्त कंडेलका अनुसार संस्थाले लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानको मूल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिकरणको प्रकृयामा योगदान पु¥याउँदै आएको छ । विभिन्न नौ वटा उद्देश्य राखेर संस्थाले कार्यक्रम सञ्चालन गर्ने कंडेलले जानकारी दिनुभयो ।