काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला तथा पुरुष खेलाडीको वर्गीकरण पुनः गरिने जनाएको छ । दुवै टोलीका कप्तानसहितका खेलाडीले वर्गीकरण न्यायोचित नभएको भन्दै क्यानमा निवेदन दिएपछि खेलाडीको वर्गीकरण पुनः गरिने भएको हो ।
क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग पुनः आवश्यक छलफल गर्न निर्देशन दिएको छ । खेलाडी र प्रशिक्षकसँग छलफल गरि सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न क्यानले निर्देशन दिएको हो ।
यसअघि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा संघका केन्द्रीय सदस्यहरु अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरी खेलाडी वर्गीकरण निर्धारण समिति गठन गरिएको थियो । सोही समितिले असोज ६ गते चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा खेलाडी करारका लागि वर्गीकरणसहितको नामावली सार्वजनिक गरेको थियो ।
समितिले १८ पुरुष खेलाडीहरु र १९ महिला खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्दै बोर्ड बैठकमा पेस गरेको थियो । समितिले पेस गरेको खेलाडी वर्गीकरणलाई बोर्ड बैठकले पारित गरेको थियो । तर उक्त वर्गीकरणमा केही महत्त्वपूर्ण खेलाडीको नाम छुट्न गएको र वर्गीकरणमा न्यायोचित नभएको भन्दै क्यानको आलोचना भएको थियो ।
आलोचनासँगै पुरुष तथा महिला खेलाडीहरुले गुनासो गर्दै संघमा निवेदन दिएका थिए । उक्त निवेदनप्रति क्यानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।