ज्येष्ठ नागरिकको सहारा बन्दै महिलाद्वारा सञ्चालित आश्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ज्येष्ठ नागरिकको सहारा बन्दै महिलाद्वारा सञ्चालित आश्रम

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा स्थापना भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रम वृद्धवृद्धाको सहारा बन्दै गएको छ । विसं २०७० वैशाख १ गतेदेखि सञ्चालनमा आएको आश्रम वृद्धवृद्धाको लागि वरदान सावित भएको हो ।

    दमौली बजारमा विभिन्न पेशा व्यवसायमा आबद्ध महिलाहरुले स्थापना गर्नुभएको उक्त आश्रममा हाल ६ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहनुभएको छ । विभिन्न पेशा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको आश्रमकी सचिव निर्मला मल्लले बताउनुभयो ।

    ३० जना महिलाहरुबाट शुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या ३ सय ३० पुगेको छ । असहाय एवं आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको मल्लले जानकारी दिनुभयो ।

    आश्रम विभिन्न दाताको सहयोगले चलिरहेको छ । स्थापनाकालमा ३० जना महिलाले रु एक÷एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्न लगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्था मार्फत् आश्रमलाई सहयोग प्राप्त हुन्छ,” उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”

    उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहार सुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ सालमा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।

     व्यास नगरपालिका–११ मूलपानीकी विमला भट्टराई आश्रममा बस्न थालेको पाँच वर्ष भयो । आश्रममा बस्दा उहाँलाई घरपरिवारमै बसे जस्तो अनुभूति हुन्छ । “विविध कारणले आश्रममा आइपुगे, यहाँ बस्दा आफ्नै घरपरिवारमा बसे जस्तै अनुभूति हुन्छ,” उहाँले भन्नुभयो, “हामी जस्ता वृद्धवृद्धाका लागि यो आश्रम वरदान सावित भएको छ ।”