तनहुँ : तनहुँको व्यास नगरपालिकामा ठेक्का व्यवस्थापन नहुँदै नदीबाट नदीजन्य पदार्थ उत्खनन्, सङ्कलन र ओसारपसार भएको पाइएको छ । व्यास नगरपालिकाको कार्यक्षेत्रभित्र रहेको मादी नदीको विभिन्न स्थानमा नगरपालिकाबाट आर्थिक वर्ष ०७७÷७८ को ठेक्का पट्टाको व्यवस्थापन नहुँदै नदीजन्य पदार्थ उत्खनन् भएको पाइएको हो ।
जिल्ला अनुगमन समितिले त्यस्तो कार्य तत्कालै रोक्न नगरपालिकालाई निर्देशन दिएको छ । वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगरिकन उत्खनन् कार्य नगर्न नगराउन साथै अविलम्ब उत्खनन् कार्य रोक्नका लागि नगरपालिकालाई पत्राचार गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।
नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन र ओसारपसारको ठेक्का व्यवस्थापन गर्नु अगावै नेपाल सरकारबाट स्वीकृत गरिएको ढुङ्गा, गिटी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ४ (ख) (ग) र ४.३ को व्यवस्था एवं गण्डकी प्रदेश सरकारबाट जारी गरिएको ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थितत गर्ने कार्यविधि २०७५ को दफा ५ को व्यवस्था अनुसार ढुङ्गा, गिटी, बालुवा आदिको उत्खनन् र सङ्कलन गर्नु अघि प्रचलित कानुन बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउनुपर्ने प्रावधान छ ।
साङ्केतिक तस्वीर