तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन २४ फरार प्रतिवादी पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले जिउ मास्ने उद्योग, लागुऔषध, सवारी ज्यान, मानव बेचविखन तथा ओसार, सार्वजनिक अपराध, जालसाजी मुद्दा लगायतका २४ प्रतिवादीलाई आइतबार पक्राउ गरेको हो ।
जिउ मास्ने बेच्ने मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०४९ मङ्सिर ८ गतेको फैसलाले दुई वर्ष ८ महिना २२ दिन कैद सजाय तोकिएका देवघाट गाउँपालिका–३ स्थायी घर भई देवघाट गाउँपालिका–२ बस्ने ६१ वर्षीय खड्कबहादुर दमै २८ वर्षपछि पक्राउ परेका छन् ।
लागु औषध मुद्दामा मोरङ जिल्ला अदालतको विसं २०६८ पुस २५ गतेको फैसलाले दुई महिना कैद र रु दुई हजार जरीवाना तोकिएका भानु नगरपालिका–६ बस्ने प्रभात भन्ने प्रभु ढकाल ९ वर्षपछि पक्राउ परेका छन् ।
सवारी ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०६३ कात्तिक १२ गतेको फैसलाले एक महिना कैद तोकिएका देवघाट गासँपालिका–४ बस्ने सनबहादुर थापा मगर १४ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका प्रतिवादीले रु २५ देखि रु २२ हजारसम्म जरीवाना तथा ७ दिनदेखि दुई वर्ष ९ महिना सम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई आजै जिल्ला अदालत पेश गरिएको छ ।