तनहुँ जलविद्युत आयोजनामा स्थानीयलाई रोजगार दिन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ जलविद्युत आयोजनामा स्थानीयलाई रोजगार दिन माग

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले तनहुँ जलविद्युत आयोजनामा स्थानीयलाई रोजगारी दिन माग गरेका छन् । आयोजनालाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले तनहुँ जलविद्युत आयोजना तथा ठेकदार कम्पनी सिनो हाईड्रोको लागि आवश्यक पर्ने कामदार तथा कर्मचारी पदपूर्ति गर्दा स्थानीयवासीलाई मुख्य प्राथमिकता दिन माग गरेका हुन् ।

    आयोजना तथा सिनो हाईड्रोमा जागिरको अवसर आएको खण्डमा स्थानीय युवाहरूलाई प्रथामिकता दिनुपर्ने माग गरिएको सालबास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशर थापाले जानकारी दिनुभयो । आयोजनाको मुख्य प्रभावित क्षेत्रका युवाहरूलाई स्वरोजगार गराउन विभिन्न सीपमूलक तालीम सञ्चालन गर्न समेत माग गरिएको छ ।

    “प्रभावित क्षेत्रका जनतालाई ३३% रोजगारीको अवसर दिने भनिएतापनि त्यो लागु नभएको र केही स्थानीयलाई भने रोजगारी दिइएको छ,” आयोजनालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “भेदभावको काम बन्द गरी स्थानीय प्रभावितहरूलाई ३३% रोजगारीको सुनिश्चितता गर्न माग गर्दछौ ।” यस्तै आयोजनाको कार्यालय तथा आवास क्षेत्र भित्र परेको वनको रूख विरूवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले क्षतिपूर्ति उपलब्ध गराउन, झापुटार र तनहुँ जलविद्युत आयोजनाको बीचमा पर्ने टुरटुरे खोलाको पानी वर्षात्को समयमा स्थानीयको खेतबारी तथा घरमा गएर क्षति पुगेकाले सो खोलाको पानीको निकासलाई दिगो व्यवस्थापन गर्न, सिनो हाईड्रो कम्पनी, ऋषिङ गाउँपालिका वडा नं १ को कार्यालय, काहुँमिलन युवा क्लबबीच खेलमैदान निर्माण गर्ने त्रिपक्षीय सम्झौता भएपनि काम शुरु नभएकाले तत्कालै काम अगाडी बढाउन माग गरिएको छ ।

    झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी योजनाबाट खानेपानी निरन्तर रुपमा आपूर्ति भइरहेपनि आयोजनाको सुरूङ निर्माणका लागि माटो परीक्षणको क्रममा सो खानेपानीको मुहानमा क्षति पुगेकाले खानेपानीको दीर्घकालिन समाधान गर्न पनि आयोजनासँग माग गरिएको छ ।

    आयोजनाको कार्यालयद्वारा जडान गरिएका पुराना सडक बत्तीहरूको नियमित रूपमा मर्मत गर्नुपर्ने तथा त्यस्ता बत्तीहरू अन्य स्थानहरुमा पनि विस्तार गर्नुपर्ने, सिनो हाईड्रो कम्पनीले बन्चरेमा निर्माण गरेको क्रसर प्लान्टका कारण भाइव्रेशन तथा ढुवानी गर्दा प्रदूषण भएकाले त्यस स्थानका वासिन्दालाई उचित क्षतिपूर्ति सहित अन्यत्र स्थानान्तरण गर्न पनि माग गरिएको छ ।

    ऋषिङ गाउँपालिका–१ को धारापानीदेखि आयोजनाको जलाशयक्षेत्रसम्म जाने बाटोलाई विस्तार गरी लोक्मा–बाँझो–तल्लो सेटाङ हुँदै ऋषिङ गाउँपालिकाको प्रशासनिक भवन रहेको स्थान पोखरीछापसम्म जोड्न, सोही वडाको पृथ्वीटोल, झापुटार, तल्लो झापुटार, भर्केनी, कुवादी, बोझादी, मालिङ, घ्याँसीडाँडा, धारापानी, तल्लो मालिङ, माथिल्लो मालिङ, ग्याझाटार, हुक्सेटार, स्वामीडाँडा क्षेत्रहरूमा विद्युतलाइन विस्तार गर्दा तनहुँ जलविद्युतको लाइनसँगै जडान गरी उक्त क्षेत्रहरूलाई लोडसेडिङ मुक्तक्षेत्र बनाउन स्थानीयवासीको माग छ ।