कोरोनाको जोखिमले फेरि विद्यालय बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोनाको जोखिमले फेरि विद्यालय बन्द

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : कोरोनाको जोखिम बढेपछि शुक्लागण्डकीका विद्यालय फेरी बन्द हुने भएका छन् । वैकल्पिक सिकाई सहजीकरणका लागि नगरक्षेत्रमा सञ्चालित विद्यालय असोज १ गतेबाट खुलेका थिए । ६ महिनापछि खुलेका विद्यालयमा जोखिम बढेपछि एक महिना नहुँदै मङ्गलबारदेखि बन्द गर्ने निर्णय भएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।

    विद्यालयले विद्यार्थी संख्या हेरेर कक्षाकोठामै पनि पढाएका थिए । कतै गाउँ टोलमै सिकाई केन्द्र बनाएर सिकाई सहजीकरण पनि भइरहेका छन् । तर, सोमबार बसेको नगर कार्यापालिकाको बैठकले अनलाईन बाहेकका कक्षा सञ्चालन गर्दा कोरोनाको संक्रमण फैलने जोखिम भएकाले तत्कालका लागी बन्द गराउने निर्णय गरेको हो । ‘समुदायमा कोरोना बढ्दै गएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हौँ’,’ कुमालले भन्नुभयो । प्रवक्ता कुमालका अनुसार अब अर्को निर्णय नहुँदासम्म विद्यालय खुल्ने छैनन् । शुक्लागण्डकीमा सामुदायिक ५८ र संस्थागत २३ गरी ८१ विद्यालय सञ्चालनमा छन् ।

    नगरपालिकाले मनसुनको बेला बाढीपहिरोले क्षति पुगेको घरका धनीलाई घरमै पुगेर राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । क्षतिको निरीक्षण गर्दै जनप्रतिनिधि तत्कालै जनताको घरघरै पुगेका थिए । नगरपालिकाले क्षति भएका घरधनीलाई चार वटा मापदण्ड बनाएर राहत वितरण गर्ने निर्णय यसअगाडी नै गरेको थियो । पूर्ण क्षतिग्रस्त भएका घरलाई २० हजार रुपैयाँ, अति जोखिम भएका घरलाई १५ हजार रुपैयाँ, जोखिमयुक्त घरलाई १० हजार रुपैयाँ र आंशिक जोखिम भएका घरधनीलाई पाँच हजार रुपैयाँ दिइनेछ ।


    सिंचाईमा बाढीपहिरोले क्षति पुर्याएको स्थानको मर्मतका लागि नगरपालिकाले तारजाली वितरण गर्ने भएको छ । सिंचाईका लागी चालु आर्थिक बर्षमा छुट्याएको २४ लाख रुपैयाँ बजेटले तारजाली खरिद गरी वितरण गर्ने निर्णय भएको प्रवक्ता कुमालले बताउनुभयो ।


    शुक्लागण्डकी–८ डहरेमा गण्डकी प्रदेश सरकारले अपांगता ग्रामका स्थापनाका लागी उपयुक्त ठानेर जग्गा माग गरेपछि नगरपालिका दिनलाई राजी भएको छ । प्रदेश सरकारले डहरेलाई पहिलो प्राथमिकतामा राखेको थियो ।