तनहुँमा कोरोना जोखिम बढ्दै, सक्रिय सङ्क्रमित १ सय ७५ पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा कोरोना जोखिम बढ्दै, सक्रिय सङ्क्रमित १ सय ७५ पुगे

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७७, मंगलवार

    तनहुँ : असोज २३ गते तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा गरी ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । असोज २६ गते व्यास नगरपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा गरी २६ जनामा सङ्क्रमण देखियो ।

    दुई दिनकै अवधिमा तनहुँमा ७० जनामा कोरोना देखियो । यसले तनहुँमा कोरोनाको जोखिम बढ्दै गएको देखिएको छ । तनहुँमा दैनिकजसो कोरोना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भइरहेको छ ।

    कोरोना सङ्क्रमित ५ सय ९० पुगे, सक्रिय १ सय ७५

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरण अनुसार सोमबारसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ९० पुगेको छ । त्यसमध्ये ४ सय १० जना निको भएका छन् भने १ सय ७५ सक्रिय छन् ।

    कोरोना सङ्क्रमित हुनेमा सबैभन्दा बढी व्यास नगरपालिकाका १ सय ५६ छन् । त्यस्तै दोस्रोमा शुक्लागण्डकी नगरपालिकामा ९३, तेस्रोमा भानु नगरपालिकामा ८६, चौथोमा ऋषिङ गाउँपालिकामा ६७, पाँचौमा बन्दीपुर गाउँपालिकामा ३९, छैठौमा घिरिङ गाउँपालिकामा ३७, सातौमा भीमाद नगरपालिकामा ३५, आठौमा म्याग्दे गाउँपालिकामा ३४, नवौमा देवघाट गाउँपालिकामा २३ र दशौमा आँबुखैरेनी गाउँपालिकामा २० छन् ।

    त्यसमध्ये व्यास नगरपालिकामा ७०, शुक्लागण्डकी नगरपालिकामा ५३, भानु नगरपालिकामा ७९, ऋषिङ गाउँपालिकामा ६१, बन्दीपुर गाउँपालिकामा ३०, घिरिङ गाउँपालिकामा ३२, भीमाद नगरपालिकामा २३, म्याग्दे गाउँपालिकामा ३२, देवघाट गाउँपालिकामा १६ र आँबुखैरेनी गाउँपालिकामा १४ सङ्क्रमित निको भएका छन् ।

    अब व्यासमा ८४, शुक्लागण्डकीमा ४०, भानुमा ७, ऋषिङमा ६, बन्दीपुरमा ९, घिरिङमा ५, भीमादमा १२, म्याग्देमा १, देवघाटमा ७ र आँबुखैरेनीमा ४ सङ्क्रमित सक्रिय छन् ।