व्यासमा मङ्सिर २ गतेसम्म विद्यालय नखुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा मङ्सिर २ गतेसम्म विद्यालय नखुल्ने

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा मङ्सिर २ गतेसम्म विद्यालय नखुल्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिबार सम्पन्न शिक्षा समितिको बैठकले कोभिड–१९ को जोखिमको विद्यमान अवस्थालाई ध्यानमा राखेर मङ्सिर २ गतेसम्म विद्यालय नखोल्ने निर्णय गरेको हो ।

    हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघा खोकीको प्रकोप देखिएको र विद्यमान मौसमी सङ्क्रमणको कारणले कोभिड–१९ विस्तारित हुन सक्ने विज्ञको राय समेत रहेको हुँदा भाईटीकाको भोलिपल्टसम्म विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न रोक लगाइएको छ । यसबीचमा वैकल्पिक विधि मार्फत् मात्र पढाई सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

    मङ्सिर ३ गतेदेखि विद्यालयमा नगरपालिकाद्वारा यसअघि जारी निर्देशिका पालना गरेर मात्र प्रत्यक्ष कक्षा सञ्चालन गर्न र कोभिड १९ को प्रभाव देखिएमा विद्यालय व्यवस्थापन समितिको परामर्शमा आवश्यक निर्णय लिन नगरपालिकाले आग्रह गरेको शिक्षा तथा सामाजिक विकास शाखाका कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिनुभयो । कक्षा ११ सञ्चालन भएका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरी पूर्व निर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गर्न नगरपालिकाले स्वीकृति दिएको छ ।