तनहुँ : तनहुँको व्यास नगरपालिकाको कार्यपालिका बैठक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा बस्ने भएको छ । व्यास नगरपालिका–५ स्थित मानहुँकोटको थप प्रचारप्रसार गर्ने उद्देश्य सहित नगरपालिकाले मानहुँकोटमा कार्यपालिकाको बैठक राख्ने तयारी गरेको हो ।
नगरपालिकाका प्रवक्ता एवं सोही वडाका अध्यक्ष मोहनकुमार श्रेष्ठले आइतबार कार्यपालिकाको बैठक मानहुँकोटमा बस्ने जानकारी दिनुभयो । कार्यपालिकाको बैठक मानहुँकोटमा सम्पन्न हुने भएपछि यसको प्रचारप्रसारका लागि थप सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो । “कार्यालय भन्दा बाहिर पहिलो पटक कार्यपालिकाको बैठक बस्दैछ, यसले यहाँको विकासका लागि योगदान पुग्नेछ,” श्रेष्ठले भन्नुभयो ।
मानहुँकोट पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट सूर्योदय र कुहिरो अवलोकन गर्न दैनिक एक हजार पर्यटक यहाँ पुग्ने गरेका छन् ।