तनहुँ : तनहुँकाे व्यास नगरपालिका–५ मा रहेको मानुङकाेट यस वर्षको दशैँयता प्रख्यात पर्यटकीय गन्तव्य बनेको छ । देशभरबाट पर्यटक दमौली बजारको पश्चिमपट्टिको शिरमा रहेको मानुङकाे डाँडोमा लर्को लाएर उक्लिरहेका छन् ।
दमौली बजारबाट ७ किलोमिटर माथि उक्लिएपछि पुगिने मानुङकाेटमा कोरोनाकाे त्रासलाई भुलेर दमौली बजारलाई कुहिरोले डम्मै ढाकेको बेला गज्जब देखिने सूर्योदयको दृश्यपान गर्नलाई पर्यटकको थामी नसक्नु भिड उर्लिन थालेपछि स्थानीय, प्रदेश र केन्द्र सरकारका जनप्रतिनिधिसँगै उच्च तहका नेता पनि मानुङकाेट उक्लन थालेका छन् ।
कात्तिक तेस्रो साता व्यास नगर कार्यपालिकाको बैठक मानुङकाेटकाे डाँडोमा बस्यो । बैठकले मानुङकाे विकासका केही योजना पनि बनायो । कात्तिक अन्तिम साता गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला लगायतको टोली मानुङकाेट पुगेर आ–आफ्नो तहबाट पूर्वाधार विकासमा सघाउने प्रतिबद्धता जनाउनुभयाे ।
यसैबीच मङ्गलबार विहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि जिल्लाका नेता कार्यकर्ता लिएर मानुङकाेटकाे डाँडोमा दृश्य अवलोकनका लागि पुग्नुभयाे । उहाँले मानहुँकोटमा थप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिँदै आफूले सक्दो पहल गर्ने बताउनुभयाे । आफू पनि गाउँबाट शहर भर्न रहराएको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा लागेको बताउँदै मानुङकाेटमा पनि पूर्वाधार थप गर्दै प्रचारप्रसारमा जोड दिएमा यहाँबाट बसाई झरेकाहरु फेरि गाउँ नै फर्कने सम्भावना रहेको सुनाउनुभयाे । चर्चित गन्तव्यको रुपमा विकसित मानुङकाेटकाे विकासकाे क्रममा मौलिक सुन्दरतालाई नास हुन नदिन उहाँको सुझाव थियो ।
गत वर्ष माघको तेस्राे साता पूर्व राष्ट्रपति रामवरण यादव पनि मानुङकाेटकाे दृश्यपानका लागि पुग्नुभएकाे थियाे । यसरी तीन तहका जनप्रतिनिधि र उच्च पदस्थ नेताहरु मानुङकाेट आउँदा प्रचारप्रसारसँगै विकासमा सघाउ पुग्ने आशा पलाएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयाे । ‘पर्यटक बढ्दै गर्दा मानुङकाेटमा यथेष्ट पूर्वाधार छैनन् । व्यास नगरपालिकाले मात्रै विकास गरेर सक्दैन् । तीनै तहका जनप्रतिनिधिले समन्वय गरेर विकास गर्न आवश्यक छ, उहाँले भन्नुभयाे ।