तनहुँ : तनहुँको व्यास नगरपालिकाको विशेष नगर सभा पुस ७ गते हुने भएको छ । व्यास नगरपालिका–१० कालीडाँडास्थित सामुदायिक घरबासमा सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले पुस ७ गते विशेष नगर सभा आह्वान गर्ने निर्णय गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाको बैठकले नगरसभा आह्वान गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकले पारित गरेको साझेदारी ऐनको मस्यौदा प्रस्ताव र आर्थिक ऐन संशोधन प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय भएको छ ।
बैठकले फोहरमैला केन्द्र व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७ पारित गर्नुका साथै व्यास नगरपालिका फोहरमैला व्यवस्थापन सम्बन्धी प्रस्तावित प्रस्ताव वातावरण विभागमा पेश गर्न अनुमोदन गरेको छ । नेपाल सरकार अर्थमन्त्रालयबाट जारी गरिएको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ को कार्यान्वयन गर्ने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
कालीडाँडास्थित सामुदायिक घरबाससम्म जाने बाटो कालोपत्रेका लागि लागत इष्टमेट गर्न पूर्वाधार शाखालाई निर्देशन दिने निर्णय भएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।