एजेन्सी : गोलीगाँठोमा गम्भीर चोट लागेपछि पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमारले स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लैजानु परेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी लियोनसँग १–० ले पराजित भयो । भ्रमण टोली लियोनको जितमा ३५ औँ मिनेटमा काडेवेरले गरेको गोल नै निर्णायक बन्यो ।
इन्जुरी समयको नवौँ अर्थात ९९ औँ मिनेटमा मेन्डेस रिबेइरो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लियोन १० खेलाडीमा सीमित भयो ।
मेन्डेसको खराब च्यालेन्जका कारण पिएसजीका नेइमार गम्भीर चोटग्रस्त भएका हुन् । मेन्डेसको खराब च्यालेन्जका कारण चोटग्रस्त भएका नेइमार मैदानमा लडेर पीडामा चिच्याएका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगियो ।
नेइमारको चोटको गम्भीरता थाहा पाउन परीक्षण भइरहेको पिएसजीका प्रशिक्षक थोसम टुसिलले बताएका छन् ।
पराजित भएको पिएसजी १४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा झरेको छ । २९ अंकसहित लियोन दोस्रो तथा लिले पहिलो स्थानमा छ ।