आवधिक योजना निर्माणका लागि सुझाव सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आवधिक योजना निर्माणका लागि सुझाव सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १ पुष २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले आवधिक योजना निर्माणका लागि सुझाव सङ्कलन गरेको छ । आवधिक योजना निर्माणका लागि नगरपालिकाले बिहीबार कार्यक्रमको आयोजना गरी विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरेको हो ।

    सङ्घीय सांसद सदस्य कलिला खानले योजना बनाउँदा सबै पक्षलाई समेटनुपर्नेमा जोड दिनुभयो । तीन तहको सरकारको बीचमा प्रभावकारी समन्वय गरी योजना निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

    गण्डकी प्रदेश सांसद आशा कोइरालाले योजना निर्माण गर्दा तीनै सरकारबीच समन्वय नहुँदा अपेक्षित उपलब्धी प्राप्त नभएको बताउँदै समाजका उत्पीडित वर्गको समेत सामाजिक र आर्थिक उन्नति हुने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।

    प्रदेश सांसद डोवाटे विकलेसमाजका सबै पक्षहरुलाई समेट्न सक्ने समावेशी खालको योजना निर्माण गर्नुपर्ने बताउनुभयो । प्रदेश सांसद सरिता गुरुङले जनताको चाहना र आवश्यकतामा योजना आधारित हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशकी सचिव इन्दु घिमिरेले स्थानीय सरकारले तर्जुमा गर्ने योजनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत गर्नुपर्ने बताउनुभयो ।

    छलफल कार्यक्रममा गण्डकी प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेलले आवधिक योजनाको परिचय, उद्देश्य, प्रकार, विश्वमा विकास अवधाारणामा आएका परिवर्तन र नेपालमा त्यसको विकासक्रम, आवधिक विकास योजनाको आवश्यकता, तीनै तहका योजनाबीचको तालमेल, समृद्ध र सुखका राष्ट्रिय लक्ष्य, दिगो बिकासका लक्ष्य, स्थानीय तहले बनाउनुपर्ने आवश्यक दस्तावेजहका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

    पौडेलले स्थानीय तहले आफ्ना योजना तर्जुमा गर्ने आधारहरु, स्थानीय तहमा आवधिक विकास योजना तर्जुमाका लागि संस्थागत व्यवस्था, स्थानीय तहको स्थतिपत्र, परामर्शदाताको योग्यता, योजना तर्जुमाका चरणहरु, योजनामा समावेश गर्नुपर्ने विषयहरु, अल्पकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्य लगायतका विषयमा समेत जानकारी गराउनुभयो ।

    आयोगकी सदस्य डा. भिमा ढुङ्गानाले आवधिक योजनाको समष्टिगत खाका, योजना निर्माणमा ख्याल गनुपर्ने पक्षहरु, आवधिक योजनाको उपक्षेत्रगत खाका, क्षेत्रगत प्रथामिकता, सुचक सहितको नतिजाको ढाँचा, दिगो विकासको लक्ष्य र सङ्केत लगायतको विषयमा प्रस्तुती राख्नुभएको थियो ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले समग्र व्यास नगरपालिकाको विकासका लागि आवधिक योजना बनाउन लागिएको जानकारी दिनुभयो । तत्कालिन समयमा नगर विकास कोषले बनााएको योजना, एकीकृत सहरी विकास योजना लगायतका विकास योजनालाई पनि आवधिक योजनामा समेटिने उहाँले बताउनुभयो ।

    योजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले व्यासले आगामी वर्ष कस्ता कार्यक्रम गर्ने भन्ने सम्बन्धमा दिशानिर्देश गर्न आवधिक योजना आवश्यक परेको बताउनुभयो ।