दमौली अस्पताल गण्डकीकै दोस्रो उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताल गण्डकीकै दोस्रो उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७७, आईतवार

    तनहुँ : तनहुँको दमौली अस्पतालमै गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये दोस्रो उत्कृष्ट हुन सफल भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको मूल्याङ्कनमा आधारमा दमौली अस्पताल दोस्रो हुन सफल भएको हो ।

    मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा रहेका अस्पतालको मूल्याङ्कन गरेकामा दमौली अस्पतालले ७७ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाको आधारमा गरिएको मूल्याङ्कनमा आधारमा अस्पताल दोस्रो उत्कृष्ट हुन सफल भएको अधिकारीले बताउनुभयो । “सरकारको मूल्याङ्कनले हामीलाई थप काम गर्ने हौसला मिलेको छ,” उहाँले भन्नुभयो ।

    मन्त्रालयको मूल्याङ्कनमा ७८ प्रतिशत प्राप्त गरी पर्वत जिल्ला पहिलो हुन सफल भएको छ । मन्त्रालयले विभिन्न ७ सय १५ वटा बुँदाहरुमा मूल्याङ्कन गरेको थियो ।

    अस्पताल व्यवस्थापन समितिले अस्पताल सुधारका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । अस्पतालमा नयाँ नयाँ सेवा थप हुने क्रम जारी छ । हालै मात्र अस्पतालमा थाइराइड उपकरण आइपुगेको छ । उक्त उपकरण सञ्चालनपछि जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ ।

          अस्पतालमा गत हप्ता मात्रै चार थान भेन्टिलेटर आएको थियो । हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको अधिकारीले बताउनुभयो ।

    विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

    १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

          अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञ सहितको सेवा दिन सकिने बताउनुभयो ।

          अस्पतालबाट हाल ४२ शैय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरवन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।