तनहुँ :देवघाट गाउँपालिका-२ खाल्टेमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । उक्त खानेपानी योजनाको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उदघाटन गर्नुभयो ।
खानेपानीको समस्याले गर्दा स्थानीयहरु सधैं चिन्तित भइरहेको बेला अब भने खाल्टेबासी उक्त समस्याबाट मुक्त भएको थापाले बताउनुभयो । साथै उहाँले खाल्टे बन्चरे हुँदै देवघाट जोड्ने मोटर मार्गको बाटो पनि छिट्टै सहज हुने र यही वर्षभित्र बस्तीमा बिजुली बत्ती पनि बाल्ने उहाँले बताए।
खाल्टे बस्तीमा अहिले करीब एकसय घरधुरीमा घरघरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ । घरमै पानी आएपछि खुशी लागेको स्थानीय तारामाया मल्लले बताउनुभयो ।
खानेपानी नहुँदा यहॉका स्थानीयवासी खोलाको पानी पिउन बाध्य थिए। मल्लका अनुसार यहॉका स्थानीयवासी चित्ने खोला, तातोखोला र दरङखोलाको पानी पिउन बाध्य थिए। “अब त घरमै पानी आएपछि सहज भयो,” उहॉले भन्नुभयो, “दुखका दिन हटे ।”
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको रु एक करोड ४७ लाखको लागतमा खाल्टे खानेपानी योजना सम्पन्न भएको उपभोक्ता समूहका अध्यक्ष धनबहादुर शाहीले जानकारी दिनुभयो ।