


दुलेगाैडा : दुई वर्ष अगाडी जुँडीफाँटमा क्याङदीको भेलले स्याङजा चिसापानीका पदमबहादुर अर्याल क्षेत्रीको ज्यान कस्सो लिएन । असारको भेलमा मोटरसाइकल सहित खोला तदै गर्दा बगायो । उर्लेको भेलमा ढुंगा भेटियो, त्यसैलाई समातेर जसोतसो उहाँले ज्यान जोगाउनुभयो । मोटरसाइकललाई भने खोलाले ५० मिटर तल पु¥यायो । अहिले पनि त्यो घटना सम्झदा क्षेत्रीको मनमा चिसो पस्छ । उहाँ भन्नुहुन्छ, ‘त्यो दिन धन्न भाँग्य बलियो रैछ र बाँचे । ढुंगा साँच्चिकै देउता सावित भयो मेरा लागि ।’
यस्तै अनुभव छ, जीप चालक लेखनाथ लम्सालसँग पनि । परार साल वर्खाको बेला क्याङदी तर्दै गर्दा सानो थियो । जब जीप खोलाको बीचमा पुग्यो एक्कासी उर्लेर आएको भेलले बगाईदियो । संजोगले त्यो दिन जीपमा सवार सबै पुरुष यात्रु थिए । उनीहरु पौडेर निस्किए । यात्रुले नै डोरीले तानेर लम्साललाई बचाउन सफल भए । ८ वर्षदेखि उहाँले यसरी नै जोखिम मोलेर सवारी चलाइरहनुभएको छ । ‘यहाँ त पहिलै पुल बन्नुपर्ने थियो । हिउँदमा त ठिकै हो । असार साउनमा त डराई डराई खोला पस्नुपर्छ,’ उहाँले भन्नुभयो । लगातार वर्षात् भएको बेला खोला निकै ठूलो हुने भएकाले केही दिन सवारी आउजाउ बन्द हुने उहाँले सुनाउनुभयो ।
जिल्लाले स्याङ्जा भएपनि हरिनासबासीको बजार तनहुँको दुलेगौँडा हो । स्थानीयलाई ओहोरदोहोर गरिरहनपर्छ । किनमेल गर्न, औषधी उपचार गराउन, उच्च शिक्षाका लागि शुक्लागण्डकीमा बग्ने क्याङ्दी तर्नुपर्छ । वर्खाको बेला त क्याङ्दीको भेलले कतिको यात्रा रोकिदिन्छ । सुत्केरी गराउन पोखरा लैजानुपर्ने भीमादको बाटो हुँदै जान्छन् । हिउँदको ठिहि¥याँउदो चिसोमा पनि खुट्टा र जुत्ता नभिजाई खोला तर्न पाईदैन । पुल नहुँदा शुक्लागण्डकी नगरपालिका–११ जुँडीफाँटका आसपासका बस्तीका स्कूले केटाकेटी पनि आधा घण्टा लामो बाटो घुमेर विद्यालय पुग्नुपर्छ ।
हरिनासबासीले जोखिम मोलेर क्याङ्दी तरेपछि मोटरबाटोको हालत उस्तै छ । बर्खामा हिलो र चिप्लो हुन्छ । जीप चालक लम्साल भन्नुहुन्छ, ‘बर्खामा गाडी त यात्रुले धकेल्दै धकेल्दै ल्याउनुपर्छ ।’ हिउँदमा बुङबुङती धुलो उड्छ । १८ बर्ष अगाडी बनेको बाटो हिउँदमा मर्मत ग¥यो बर्खा लाउने वित्तिकै ठूला ठूला भ्वाङ पर्छन् । ठाउँ–ठाउँमा पहिरो खस्छ । सवारीमा यात्रा गर्न पनि कठिन छ । हरिनासबासीलाई कहिले चिल्लो कालोपत्रे बाटो बन्ला र सुखले यात्रा गर्न पाइएला भन्ने आशा छ ।
हरिनासको समृद्धि रोक्ने क्याङ्दीको भेल वारपार गर्न पक्की पुल बन्न थालेको छ । चिल्लो कालोपत्रे सडकमा गाडी गुडाउने चालक र चढ्ने यात्रुको सपना पनि पूरा हँुदैछ । गण्डकी प्रदेश सरकारले जुँडीफाँटमा पुल र ढोरबाराही मार्गको जुँडीफाँट चिसापनी हुँदै हरिनास गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्रेका लागि गत वर्ष वजेट विनियोजन गरेको थियो । २०७५ कात्तिकमा यहाँको महिमा माविले प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरेको महायज्ञ उद्घाटन गर्न आएको बेला पुल बनाईदिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बाचा अनुसार बजेट विनियोजन भएको हो ।
ठेक्का लागेपनि अघिल्लो वर्ष कोरोना कहरले काम शुरु भएन । यतिबेला भने धमाधम काम भईरहेको छ । पुल निर्माण थालिएको छ भने सडक स्तरोन्नतिको कामले गति लिएको छ । यहाँ ४० मिटर लामो पुल बन्नेछ । १६ किलोमिटर सडक कालोपत्रे हुनेछ । रु ३२ करोड ६५ लाख ४७ हजार एक सय ४९ मा पुल र सडक कालोपत्रे गर्नलाई गोल्डेनगुड बानियाँ जेभीले ठेक्का पाएको छ । २०७६ जेठ १५ मा सम्झौता भएको सडक कालोपत्रेको र पुल निर्माणको म्याद दुई वर्ष रहेको छ ।
पुल बनेर सडक कालोपत्रे भएपछि हरिनास गाउँपालिकाको केन्द्र गण्डकी प्रदेशको केन्द्र पोखरासँग चिल्लो कालोपत्रे बाटोले जोडिनेछ । क्याङ्दीमा पुल र सडक कालोपत्रे भएपछि हरिनासमा विकासको लहर भित्रिने गाउँपालिका उपाध्यक्ष झनमाया पराजुली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘वर्षौदेखि हरिनासबासीको सपना पूरा हुँदैछ । गाउँबासी अत्यन्तै खुशी छन् ।’ सडक र पुलले बसाईसराई रोक्ने र कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने उहाँको ठम्याई छ ।
यस्तै, हरिनासमै पहिलोपटक सडक कालोपत्रे गरिएको छ । राम्चेदेखि रोदीखोलासम्म एक हजार ३ सय ४० मिटर सडक कालोपत्रे गरिएको हो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा उक्त सडक कालोपत्रे भएको उपाध्यक्ष पराजुलीले बताउनुभयो । उहाँका अनुसार कालोपत्रेका लागि रु एक करोड ६१ लाखमा ठेक्का लागेको थियो ।