काठमाडौँ : प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै परेका रिटहरुमाथि बुधबार सुनुवाई हुँदैछ।गएको बुधबारदेखि नै यी रिटमाथि सुनुवाई सुरु हुने भनिए पनि ताेकिएकाे संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागीतालाई लिएर आपत्ति जनाइएको थियो। पछि कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि आजका लागि पेशी तोकिएको हाे।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानूनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने भएका हुन्।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले कार्कीको ठाउँमा संवैधानिक इजलासमा रहने रोष्टरमा भएका बाँकी न्यायाधीशमध्येबाट एक जनालाई छनाैट गरेर इजलास गठन गर्नेछन्।
उक्त इजलासले फेरि संवैधानिक इजालबसाट निरुपण गर्ने कि बृहत इजलास गठन गर्ने भन्ने विषय टुंगो लगाउने छ।
यदि संवैधानिक इजलासबाट सुनुवाइ हुने निर्क्यौल भयो भने समय रहेको खण्डमा विवाद केन्द्रित बहस बुधबारदेखि नै सुरु हुनेछ।