तनहुँ : समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छात्रावासमा बस्न पाँच सय विद्यार्थीले आवेदन दिएका छन् । ३० जनाको मात्रै क्षमता रहेको छात्रावासमा आवासीय सुविधाका लागि पाँच सय विद्यार्थीको आवेदन परेको क्याम्पसले जनाएको छ ।
आवेदन दिनेमध्ये दुई सय ५२ विद्यार्थी अभिभावकविहिन रहेको क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । “३० जनाको क्षमता हो, पाँच सय जनाको आवेदन परेको छ,” हड्खलेले भन्नुभयो, “कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।” विसं २०५८ सालमा शुरु भएर विसं २०७५ मङ्सिरमा छात्रावास निर्माण सम्पन्न भएको थियो ।
सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै रु ३५ लाख खर्च हुने गरेको छ । चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौ,” हड्खलेले भन्नुभयो ।
हड्खलेका अनुसार क्याम्पसको शिक्षाको गुणस्तरका कारण यस वर्ष क्याम्पसमा पाँच सय विद्यार्थी थपिएका छन् । हाल क्याम्पसमा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा छन् ।
क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । हड्खलेले भन्नुभयो, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिहरुको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।”
क्याम्पसमा बिबिए, बिआइसिटीको अध्ययन शुरु भइसकेको छ भने बिएससीको तयारी गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गरिसकेको छ ।
विसं २०४३ सालमा आदिकवि भानुभक्त क्याम्पस स्थापना भएको थियो । जुन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको शुरुवातमा भवन नहुँदा लायन्स क्लवको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो । क्याम्पसमा लायन्स क्लवकै एक लाख डलर सहयोगमा विज्ञान प्रयोगशाला भवन अन्तिम अवस्थामा पुगिसकेको छ ।