व्यास अल्ट्रा म्याराथन : पुरस्कार राशी वृद्धि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यास अल्ट्रा म्याराथन : पुरस्कार राशी वृद्धि

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    तनहुँ : सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित नगरपालिकाले विगत चार वर्षदेखि म्याराथन आयोजना गर्दै आएको छ ।

    नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशी वृद्धि गरेको छ । नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख बैकुण्ठ न्यौपाने प्रथम, द्वितीय र तृतीय पुरस्कार राशीमा रु चार हजार एकका दरले वृद्धि गरिएको जानकारी दिनुभयो । सान्त्वना रकम भने यथावत राखिएको छ ।

    यस वर्ष प्रथम हुनेलाई रु ८५ हजार ७७, द्वितीय हुनेलाई रु ६५ हजार ७७, तृतीय हुनेलाई रु ५५ हजार ७७ प्रदान गरिनेछ भने सान्त्वना हुने पाँच जनालाई रु १६ हजार ७७ प्रदान गरिनेछ । सबै पुरस्कार रकम कर बाहेक हो । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

    नगरप्रमुख न्यौपानेले म्याराथन नगरपालिकाको पहिचान बनिसकेकाले यसलाई हरेक वर्ष निरन्तरता दिइने जानकारी दिनुभयो । व्यास नगरपालिका–५ मानुङदेखि शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किलोमिटर दूरीमा हुनेछ । पर्यटकीय स्थलको प्रचारप्रसारका लागि म्याराथनले सहयोग पुगेको न्यौपानेले बताउनुभयो । “मानुङमा आज जुन लहर आएको छ, त्यसको देन म्याराथन पनि हो,” उहाँले भन्नुभयो, “मानुङकोट देश विदेशमा प्रख्यात भएको र सङ्घ र प्रदेशको ध्यान पनि यसमा खिचिएको छ ।”

    पत्रकार सम्मेलनमा उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले म्याराथन सफल बनाउन विगतका वर्षमा जस्तै नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

    माघ १४ गतेसम्म नाम दर्ताको समय राखिएको र १५ गते धावकलाई अभिमुखीकरण सञ्चालन गरिनेछ । धावकले नियम पालना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।

    म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
    गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमि दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।