आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०७७, शुक्रबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो ।

    विसं २०७६ कात्तिक ६ गते शुरु भएको भवन विसं २०७७ असोज २७ गते सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार एक सय ५६ वर्गफिटमा फैलिएको भवन रु ५३ लाख ३८ हजार २९ को लागतमा सम्पन्न भएको हो । खरादेवी निर्माण सेवा भक्तपुरले भवन निर्माणको जिम्मा पाएको थियो ।

    स्वास्थ्य केन्द्रमा एक जना एचए, एक जना अनमि र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । विस्तारै जनशक्ति थपिने पोख्रेलले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट सरकारले उपलब्ध गराएको ३५ प्रकारका औषधि निःशुल्क रुपमा प्राप्त हुनेछ ।

    स्वास्थ्य केन्द्रको शुक्रबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्दै स्वास्थ्य केन्द्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री चुमानले कोभिड खोपको बारेमा अफवाह फैलाउने काम भएको भन्दै गलत प्रचारले स्वास्थ्यकर्मीमाथि नकारात्मक असर परेको बताउनुभयो । “खोप सुरक्षित छ, गलत भ्रमको पछाडि लाग्न आवश्यक छैन,” मन्त्री चुमानले भन्नुभयो ।

    कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले वडा वडामा स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

    गाउँपालिकाले वडा नं १ मा रु ५४ लाखको लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको छ भने वडा नं ४ मा भवन निर्माणका लागि बोलपत्र सम्झौता भएको छ । गाउँपालिकाले वडा कार्यालय भवन निर्माणलाई समेत तीव्रता दिएको छ । जसबमोजिम वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं ४ को निर्माणाधीन अवस्थामा छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा एकिन गरिएको छ भने वडा नं ६ को डिपिआर तयार भएको छ ।

    वडा नं १ को भवन रु ७४ लाख ४२ हजार सात सयको लागतमा सम्पन्न भएको छ । वडा नं ४ को भवन रु ५२ लाख ४२ हजारमा निर्माणाधीन छ । भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ । वडा नं ५ को भवन रु ५३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको छ । वडा नं ६ का लागि रु ७० लाख बजेट अनुमानित गरिएको छ ।