तनहुँ : आँबुखैरेनी स्रष्टा समाजले ०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को घोषणा गरेको छ । समाजको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंज्ञानीलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य विधातर्फ हास्यकलाकार रमेश के. सी. मत्तारेलाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । दुवै पुरस्कारको राशी जनही नगद रु. दश हजार र सम्मानपत्र रहेको छ ।
यसैगरी ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण व्यवस्थापन संकायतर्फका सपना गुरुङ र शिक्षाशास्त्र संकायतर्फका दिपीका थापालाई प्रदान गर्ने निर्णय गरेको छ । आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ ।