दुलेगौँडा : तनहुँको भिमाद र शुक्लागण्डकी नगरपालिकालाई सीमाना बनाएर बग्ने क्याङ्दी खोलामा पक्की मोटरेबल पुल निर्माण शुरु भएको छ । भिमाद–८ सिम्ले र शुक्लागण्डकी–८ किमलडाँडालाई जोड्ने गरी पुल बन्दैछ ।
बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुलको शिलान्यास गर्नुभयो । सो अवसरमा मन्त्री गुरुङले नाम लेखाउने रहरले नभईकन जानकारी र सार्वजनिकीकरणका लागि शिलान्यास कार्यक्रम गर्ने गरेको बताउनुभयो । ‘कतिपयलाई लाग्न सक्छ पुल शिलान्यास गर्ने त्यो नाम लेखाउनका निम्ति हो । नाम लेखाउनका निम्ति हाेइन यो सार्वजनिकीकरण गर्नका निम्ति नै शिलान्यास कार्यक्रम गरिएको हाे’, उहाँले अगाडी भन्नुभयो, ‘शिलान्यास कार्यक्रम गरेपछि सबैलाई थाहा हुन्छ । बरु उद्घाटन नगर्दा पनि हुन्छ ।’
मन्त्री गुरुङ आफू पोखरा बसेर अध्ययन गर्दै गर्दा बिदाको बेला घर फर्कदा क्याङ्दी खोला तर्दा मोलेको दुख सम्झिएर यहाँ पुल बनाउन लागिपरेको सुनाउनुभयो । मन्त्री गुरुङको पुख्र्यौली घर भिमाद नगरपालिका–९ भानुमती सखेपमा हो । कुनै पनि आयोजना समयमै सम्पन्न गर्न स्थानीय सरकारको समन्वय हुनुपर्ने बताउँदै उहाँले आवश्यक सहयोग गर्न निर्देशन दिनुभयो । फरक प्रसंगमा उहाँले गण्डकी प्रदेश सरकार विघटन नहुने र प्रदेश सरकारले सञ्चालन गरेका योजना पनि अलपत्र नपर्ने स्पष्ट पार्नुभयो ।
प्रदेशसभा सदस्य आशा कोइरालाले अबको दुई वर्षमा यहाँको स्थानीयले भोग्नुपरेको समस्याबाट मुक्ति मिल्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको योजना भएपनि उपभोक्ताले प्रत्यक्ष निगरानी गरी गुणस्तरीय काम गर्न जोड दिनुपर्ने उल्लेख गर्नुभयो । बर्खामा क्याङ्दीले निरन्तर बस्ती र खेतीयोग्य जग्गा कटान गरेकाले व्यवस्थित तटबन्दको आवश्यक रहेको उहाँको भनाई छ ।
भिमादका मेयर मेखबहादुर थापाले स्थानीय बासिन्दाले अनेकौँ बखेडा झिक्दा समयमै काम नहुने भएकाले सकरात्मक सहयोग गर्न सुझाव दिनुभयो । शुक्लागण्डकीकी उपमेयर सविता रसाईलीले शिलान्यास भएको पुल सम्पन्न हुने बेलासम्म स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
८ करोड ३२ लाख ४८ हजार १ सय ७४ रुपैयाँमा पुल निर्माणको ठेक्का एमएस रसुवा वाइएसएस जेभी सुर्खेतले पाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण २०७९ मंसिर १७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ । पायल फाण्डेसनमा बन्ने पुल ७० मिटर लामो र ८.४ मिटर चौडाको हुनेछ ।
पुल बनेपछि बर्खाको बेला वारपार गर्न सजिलो हुने भिमाद –८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो । पृथ्वीराजमार्गबाट नजिकै रहेका भिमाद र शुक्लागण्डकीका क्याङदी पारीका बस्ती बर्खामा यातायात सञ्जालबाट सम्पर्क टुट्छ । हिउँदमा क्याङ्दी सुकेपछि बल्ल सवारी वारपार हुन्छन् । दुईपांग्रे सवारी दोभानको झोलुङ्गे पुल हुदै वारपार गर्छन् । शुक्लागण्डकी–७ दोभान र भिमाद–८ भागरलाई जोड्ने गरी ६ वर्ष पहिले सेती नदीमाथि निर्माण थालिएको पुल अलपत्र छ । अझै केही बर्ष बन्ने छाँटकाट देखिदैन् । तर, क्याङ्दीमा पुले बनेपछि बर्खाको बेला घुमाउरो बाटो भएपनि सवारी आउजाउ हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।
क्याङ्दीमा पुल बनेपनि डहरे खोलामा पुल नबनेसम्म सार्थक नहुने शुक्लागण्डकी–८ का वडासदस्य रोमबहादुर ठकुरीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय तनहुँका अधिकृत दधीराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा भिमाद–९ का वडाध्यक्ष ईमानबहादुर थापाले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।