तनहुँमा एक सय ३६ मतदानस्थल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एक सय ३६ मतदानस्थल

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि पुरानै मतदानस्थल कायम गरेको छ । विसं २०७४ सालको निर्वाचनमा रहेको एक सय ३६ मतदानस्थललाई नै कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    राजनीतिक दलको सहमतिमा उक्त मतदानस्थल कायम गर्ने काम सम्पन्न भएको निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको एक÷एक मतदानस्थललाई भने नजिकको विद्यालयमा स्थानान्तरण गरिएको छ । “यसभन्दा अगाडी मतदानस्थल रहेका ती विद्यालय खारेज भएपछि नजिकको अर्को विद्यालयमा मतदानस्थल कायम गरिएको छ,” उहाँले भन्नुभयो ।

    सरकारले निर्वाचन घोषणासँगै कार्यालयले निर्वाचनको तयारी तीव्र गतिमा अगाडी बढाएको छ । जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने तथा दावी विरोध गर्ने कार्य सम्पन्न भएको छ । शर्माका अनुसार तनहँुमा दुई लाख ३१ हजार चार सय २० जना मतदाता कायम गरिएका छन् । विसं २०७४ सालको निर्वाचन पछि मृत्यु भएका एक हजार चार सय व्यक्तिको नामावली स्थानीय पञ्जिधिकारीको सिफारिसको आधारमा हटाइएको छ ।

    कार्यालयले पाँचौ निर्वाचन दिवसको अवसरमा जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन लगायतलाई निर्वाचन आचार संहिताको मस्यौदाको बारेमा जानकारी गराएको छ । अहिले निर्वाचन आचार संहिता मस्यौदाको अन्तिम तयारीमा रहेको भन्दै जिल्ला निर्वाचन अधिकारी शर्माले आचारसंहितामा समावेश गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादितरुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता लागु हुने भन्दै यसको पालना सबैले गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य राजेश्वर ढकाल, नेपाली काङ्ग्रेसका सहसचिव केशबहादुर सुनारले निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।