दमौलीमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन बन्ने

    खबरपुञ्ज संवाददाता

    ३१ चैत्र २०७७, बुधबार

    दमाैली : तनहुँको दमौलीमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाले दमौलीमा चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो ।

    त्यसका लागि आयोजनाले अन्तराष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग सम्झौता गरेको छ । आयोजनाले देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन बनाउन रु ३७ करोड ७९ लाख ५५ हजार (करबाहेक) ठेक्का सम्झौता गरेको छ ।

    एसियाली विकास बैङ्कको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्नेगरी सम्झौता भएको छ । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो । चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिनेछ ।

    चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

    १ नं प्रदेशका झापाको दमक,भद्रपुर,कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् । २ नं प्रदेशको पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर,धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

    बागमती प्रदेशको धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २,मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुङलिन÷कुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली ,स्याङजामा १÷१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।

    लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसनहरू रहने छन् । बाँकेको नेपालगञ्जमा १,दाङको भालुवाङ तथा दाङमा १÷१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट÷सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन् । कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १÷१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेछन् ।