कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा चार सदस्यीय टिम गठन गरेको हो ।

    उक्त टिमको सदस्यमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी रहनुभएको छ । आइतबार भानु नगरपालिकाका एक वृद्धले समयमै उपचार नपाएर दमौली अस्पताल बाहिर एम्बुलेन्समै ज्यान गुमाउनुपरेपछि अस्पताल र प्रशासनको आलोचना हुँदै आएको छ ।

    बैठकले दमौलीमा रहेको कृषि विकास बैङ्कको पुरानो भवनमा होम आइसोलेशनमा बस्न स्थान नभएका विपन्न व्यक्तिहरुका लागि स्वास्थ्यकर्मी र अक्सिजनको सुविधा सहित व्यास नगरपालिकाले सामूहिक आइसोलेशन सेन्टर सञ्चालन एवं व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    बैठकले प्रत्येक स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य सामग्री र औषधीको प्रबन्ध गर्ने, प्रत्येक स्थानीय तहले सङ्क्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्न आवश्यक पर्ने सवारीसाधन, शववाहन, पिपिई लगायतका सामग्री व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

    होम आइसोलेशनमा र स्वास्थ्य संस्थामा रहेको सङ्क्रमितहरुसँग स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई निरन्तर सम्पर्कमा राख्ने, सङ्क्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजान पर्दा सम्बन्धित अस्पतालका प्रमुखसँग समन्वय गर्ने, सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेशनमा बिरामीको अवस्था र दिनुपर्ने सेवाका आधारमा सङ्क्रमितको उपचार प्रबन्ध मिलाउने, सङ्क्रमितलाई उपचारका लागि पोखरा र अन्य अस्पतालमा पठाउनुपर्दा अस्पतालका विशेषज्ञ डाक्टरले पठाउनुपर्ने अस्पतालसँग समन्वय गर्ने निर्णय भएको छ ।

    त्यसैगरी स्थानीय तहमा स्वास्थ्य शाखा प्रमुख रहने गरी गठन भएको अनुगमन समितिले होम आइसोलेशन र क्वारेन्टिनको अनुगमनमा जिम्मेवार बनाउने निर्णय समेत भएको प्रशासनले जनाएको छ ।

    थप निर्णय हेर्नुहाेस् :

    Scan2021-05-11_142744