पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड विरुद्धको लडाईमा नर्सहरुको भूमिका उदाहरणीय रहेको बताउनुभएको छ । विश्व नर्स दिवसको अवसरमा बुधबार सन्देश जारी गरी मुख्यमन्त्री गुरुङले आफ्नो जीवन जोखिममा राखेर कोभिड विरुद्धको लडाईमा अग्रभागमा खटिरहेका नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमंसेवकप्रति सम्मान व्यक्त गर्नुभएको हो ।
कोभिड-१९ विरुद्धको लडाईमा प्रत्यक्ष जुटिरहँदा नर्सिङ र स्वास्थ्य सेवाको महत्व र कर्मलाई अझ गहिराईमा पुगेर बुझ्ने र भोग्ने अवसर प्राप्त भएको मुख्यमन्त्री गुरुङले उल्लेख गर्नुभयो। “कोभिड-१९ को दोस्रो लहर विरुद्धको लडाईमा यतिबेला धेरै नर्सहरु फ्लोरेन्स नाइटिङ्गलकै मार्ग र भावनालाई पछ्याउँदै अहोरात्र खटिरहेका छन्,” उहॉले भन्नुभयो ।
मुख्यमन्त्री गुरुङले मानव जातिकै अस्तित्वका लागि चुनाैति बनेर आएकाे काेभिड-१९ विरुद्धकाे लडाईमा पूर्ण सफलता प्राप्त गर्न र यस सङ्कटकाे बेलामा अझ दृढतापूर्वक जुट्न आजकाे दिनले सबैलाई प्रेरणा प्रदान गर्न सक्नुपर्ने विश्वास व्यक्त गर्नुभयाे ।
आधुनिक नर्सिङ पेशाकाे शुरुवात गर्ने फ्लाेरेन्स नाइटिङ्गलकाे जन्म सन् १८२० मे १२ मा व्रिटेनमा भएकाे थियाे । उहाँकाे जन्मदिन मे १२ काे अवसर पारेर विश्वभर आजकाे दिनलाई विश्व नर्स दिवसका रुपमा मनाउने गरिन्छ । फ्लाेरेन्स नाइटिङ्गलले सन् १८६० मा लण्डनकाे सेण्ट थाेमस अस्पतालसँगै नर्सिङ कलेज समेत सञ्चालन गर्नुभएकाे थियाे । यसलाई आधुनिक र व्यावसायिक नर्सिङ सेवाकाे नयाँ माेडका रुपमा पनि लिइने गरिएकाे छ ।