दुलेगौँडा : गण्डकी प्रदेशमा विहीबार १४ जना कोराना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीका मात्रै ८ जना संक्रमितको मृत्यु भएको छ । बाग्लुङका ४, म्याग्दी र दाङका १÷१ जना संक्रमितको मृत्यु भएको हो ।
गण्डकी प्रदेशभर हालसम्म कोरोना संक्रमणका कारण ३ सय १८ जनाले ज्यान गुमाएका छन् । बुधबार हिजो मात्रै गण्डकीमा १६ संक्रमितको मृत्यु भएको थियो ।
स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । ९ जिल्लाका १ हजार ३ जनाको स्वाब संकलन गरी पिसीआर परिक्षण गरिएको थियो । ४ सय ९७ जनाको रिपोर्ट नेगेटिभ आयो । गण्डकीमा कुल संक्रमितको संख्या २५ हजार ९ सय ५३ पुगेको छ ।
विहीबार थपिएका संक्रमितमा सबैभन्दा धेरै कास्कीका २ सय १० जना रहेका छन् । बाग्लुङका १ सय १९ जना, नवलपुरका ९१ जना, म्याग्दीका २८ जना, तनहुँका २७ जना, स्याङजाका १६ जना, लमजुङ र गोरखाका १/१ जनामा संक्रमणको पुष्टी भएको हो । मनाङ र मुस्ताङको परिक्षण शुन्य रहेको छ ।
विहीबार १ सय ४५ जना संक्रमित निको भएका छन् । यो संगै गण्डकीमा कोरोना जित्नेको संख्या १८ हजार ६ सय ४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ३१ रहेको छ । तीमध्ये ६ हजार ८ सय ६८ जना होम आईसोलेसनमा रहेका छन् ।