तनहुँ : तनहुँको व्यास नगरपालिका–२ स्थित कृषि विकास बैङ्क भवनमा सञ्चालन गर्न लागिएको आइसोलेशन सेन्टरका लागि स्वास्थ्य सामग्री व्यवस्थापन गर्न व्यास नगरपालिका जुटेको छ ।
५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका लागि नगरपालिका जुटेको हो । आइसोलेशन सेन्टरका लागि एक जना एमविविएस डाक्टर र दुई जना स्वास्थ्यकर्मी नियुक्त भइसकेका छन् ।
आइसोलेशन सेन्टरका लागि आवश्यक अक्सिजन व्यवस्थापनका लागि आफूहरु लागिपरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “प्रहरीबाट सिलिन्डर प्राप्त भएकाले आजै पोखरा गएर सिलिन्डरमा अक्सिजन भरेर ल्याउँछौ,” सोतीले भन्नुभयो । आइसोलेशन सेन्टरमा सिसिटिभी जडान भइसकेको छ ।